दौडेर राजा हुने इतिहास बोकेको लिगलिगकोट फेदीमा रहेको माओवादीको पालुङटार बैठकले माओवादीका लागिमात्र होइन, मुलुकको राजनीतिमा पनि प्रभाव पार्नेछ । आगामी दिनमा यो चर्चामा आइरहनेछ । पालुङटार जानुअघि माओवादीका तीन नेता अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईको 'लिगलिगकोट' दौड सुरु भइसकेको थियो । त्यही दौड नै पालुङटारको सबभन्दा ठूलो विशेषता बन्यो ।
पालुङटारमा करिब एकसाता भएको दौडमा तीन नेतामध्ये कसैले जितेनन् र हारेनन् पनि । ती नेताको त्यही वैचारिक दौडको रिपोर्टिङमा कान्तिपुर दैनिकबाट साथी सरोज र म गोरखाको पालुङटार गएका थियौं । स्थानीय संवाददाता कृष्ण आचार्य पहिलेदेखि नै तैनाथ थिए ।
यही मंसिर ४ गते हामी गइपुग्दा पालुङटार 'माओवादी गाउँ भइसकेको थियो । जता हेर्यो, उतै माओवादी झण्डा, बाटाभरि गेट र तुलले भरिएको थियो । अझ पालुङटारको बस्ती झुप्राको सहरजस्तो भएको थियो । कटुसको पातले छाएका छाप्रामा माओवादी भरिने क्रम सुरु भइसकेको थियो । पालुङटारको माओवादी भेलालाई 'रातो जात्रा' पनि भन्न सकिन्थ्यो । किनभने राता झण्डा, गेट र आफूलाई राता मान्छे भन्ने माओवादीले खचाखच भइसकेको थियो । करिब सात हजार 'राता मान्छे' भेला भएको क्षेत्रलाई 'रातो जात्रा' भने के फरक पर्छ ?
यसअघि पालुङटार गुमनामजस्तै थियो । लिगलिगकोटको फेदमा भए पनि त्यो ओझेलमा थियो । माओवादीले विस्तारित बैठक तोकेदेखि भने यसले राष्ट्रिय चर्चा
पायो । विशेषगरी राष्ट्रिय सञ्चारमाध्यमका दर्जनौं पत्रकारको पालुङटार बैठकको समाचार संकलन गर्न मंसिर पाँच गतेअघि नै त्यहाँ पुगिसेका थिए । करिब आधा दर्जन टेलिभिजनले प्रत्यक्ष प्रसारण गरे भने दर्जनांै एफएम रेडियोले पनि बेलाबेलामा खबर प्रवाह गरेका थिए ।
पालुङटार बैठकले नेपालको राजनीतिमा दीर्घकालीन रूपमा प्रभाव पारे पनि नपारे पनि यसको प्रभाव माओवादीमा पारिरहनेछ र पुगेका पत्रकारका लागि पनि अविस्मरणीय घटना हुनेछ । पालुङटारमा बस्दा र समाचार संकलन र सम्प्रेषण गर्दा तीतामीठा अनुभव सँगाल्ने मौका मिल्यो । माओवादीमा तीन धु्रव देखिइसकेपछि सबैको आआफ्नै दौड भइरहेको थियो । अध्यक्ष दाहाल, उपाध्यक्षद्वय भट्टराई र वैद्यको यो दौड हेर्नलायक थियो । सबै पक्षका नेता तथा कार्यकर्ताहरू बैठकको सुरुवातदेखि नै प्रभाव जमाउन कम्मर कसेर लागेका थिए । करिब सय मिटर ठूलो हलको मञ्चमा तीन शीर्षनेताले बैठकमा आआफ्नो तर्क प्रस्तुत गरे भने तल गुन्द्रीमा बसेका तीन पक्षका प्रतिनिधिले आआफ्ना नेतालाई समर्थन गर्दै एकअर्काप्रति छेडछाड गरेको प्रसंग त्यत्तिकै रमाइलो थियो ।
बैठक पालुङटारवासीका लागि औधी उपयोगी भइदियो । कहिल्यै नबनेको सडक बनेको थियो, खानेपानीको स्रोत बढेको थियो भने सडकमा चिल्ला गाडी गुडेका थिए भने सबै घरमा 'पाहुना' भरिएका थिए । त्यो उनीहरूका लागि त्यो नौलो अनुभूति थियो । देशभरिका माओवादी पालुङटार ओइरिएपछि भएको परिवर्तनले क्षणिक रूपमा भए पनि स्थानीयलाई खुसी ल्याएको थियो । पालुङटारका बूढापाकाहरूको भनाइ थियो, 'नमरी बाँच्यो भने धेरै कुरा देख्न पाइने रहेछ ।' एक हिसाबले भन्ने हो भने पालुङटारले काँचुली फेर्यो । माओवादीले पालुङटारमा बैठक नगरको भए यो गोरखाको एउटा गाउँमा सीमित हुन्थ्यो । तर अहिले पालुङटार चुनबाङजस्तै 'ब्रान्ड' बनेको छ ।
माओवादीका छैटौं विस्तारित बैठक हुनुको आफ्नै कथा छ । करिब ६ महिनाअघि 'वैद्य, भट्टराई र थापाबीच नयाँ समीकरणको तयारी' शीर्षकको समाचार कान्तिपुरको पहिलो पानामा छापिएपछि अन्तरसंघर्षले चर्को रूप लिएको थियो । त्यसपछि तीन पक्षबीच धु्रवीकरण तीव्र हुँदै विस्तारित बैठकसम्म पुगेको नेताहरूले बताएका छन् । त्यो अन्तरसंघर्ष स्थायी, पोलिटब्युरो, केन्द्रीय समिति हुँदै विस्तारित बैठकमा पुगेको हो । दाहालले कान्तिपुरमा छापिएको समाचारलाई आफ्नो दस्तावेजमा समेत उल्लेख गर्दै त्यो समाचार उपाध्यक्ष भट्टराईले पत्रकार बोलाएर दिएको आरोप लगाएका छन् । वास्तवमा त्यो समाचारको स्रोत अर्कै थियो ।
पालुङटार बैठकको समाचार संकलन र सम्पे्रषणका क्रममा तीता अनुभव पनि रहे । जुन एउटा पत्रकारका लागि गजबको अनुभव हो । माओवादीका एक 'विद्वान' पोलिटब्युरो सदस्यले बैठकस्थल बाहिर अर्को पक्षलाई सघाएको आरोप लगाउँदै हामीसँग जंगिए । उनले 'पत्रकारिता गरेको कि अरू केही व्यवसाय ?' भनेर गम्भीर प्रश्न पनि
गरे । माओवादी रिपोर्टिङको सिलसिलामा यस्ता आरोप आइरहनु स्वाभाविक हो । उनलाई तत्काल जवाफ फर्काउनु मैले आवश्यक ठानिन । किनकि हाम्रो ध्यान जहिले पनि सन्तुलित समाचारमै थियो र हुन्छ । कसैलाई खुसी बनाउने र कसैलाई दुःखी बनाउने हिसाब-किताब गरेर कहिले पनि समाचार लेखिँदैन । विषय, प्रसंग, घटना, परिस्थितिका आधारमा समाचार बन्छ ।
पालुङटारमा पत्रकारको प्रतिस्पर्धा गजबको थियो । शीर्ष नेताको अन्तर्वार्ता लिनेदेखि बैठकको समाचार संकलन गर्ने कुरामा विशेषगरी ठूला दैनिनका संवाददाताबीच 'रमाइलो' प्रतिस्पर्धा थियो । यतिबेला पालुङटार सुनसान भइसकेको खबर छ । नजिकैको ठाँटीपोखरी बजारमा सामान्य चहलपहल छ रे । करिब डेढ साता पालुङटार डेटलाइन भएको त्यो ठाउँ अखबारबाट आक्कल-झुक्कल आउँछ । राजधानीमा भने त्यसको चर्चा सेलाएको छैन । त्यति लामो समय यसले जुन चर्चा पायो, अबका दिनमा सायदै पाउनेछ । त्यति लामो समय सञ्चारमाध्यमको ध्यान पनि कमै जानेछ । माओवादीले मात्र होइन, दर्जनौं सञ्चारकर्मीले पालुङटारलाई बाइबाइ गरिसकेका छन् ।