प्रतिकृया

कोकको जोक उपभोक्ताको झोक !


कोकको एउटा विज्ञापन तपाईले देख्‍नुभएको होला टिभीमा । बसमा एक यात्रु फोन गर्न खोज्दा मोबाइलमा ब्यालेन्स हुदैन , त्यतिकैमा उसले एक जना कोक बेच्नेलाई देख्‍छ कोक किन्छ र मोबाइलको ब्यालेन्स रिचार्ज गरी फोन गर्छ ।
पत्रपत्रिकाहरुमा र कोक बेच्ने पसलहरुमा पनि ठूल्ठूलो अक्षरहरुमा लेखिएको हुन्छ- कोकाकोला पिउनुस् र जित्‍नुहोस् रु ५० लाखसम्मको टकटाइम । कोकाकोलाको बिर्कोमुनि रहेको युनिक कोड ६३६३ मा एसएमएस गरी पठाएपछि टक टाइम जित्‍न सकिने ती विज्ञापनहरुमा लेखिएको छ  । तर विज्ञापन झुटो रहेछ,मायोज चाउचाउले कार उपहार भनी ठूल्ठूलो विज्ञापन छापेर कार उपहार परेका उपभोक्ताले लिन जाँदा ‘कहाँ साँच्चिकै कार दिने भन्या हो र, खेलौना कार पो दिने भन्या त, एउटा हैन दुइटा लैजा’ भन्या जस्तै यो ५० लाखसम्मको टक टाइम पनि जोक मात्र रहेछ । कति घटिया जोक भने ५ पैसाको पनि टकटाइम कोकाकोलाले दिँदैन । विज्ञापनमा भने जसरी नै एसएमएस पठाउँदा विज्ञापनमा बाचा गरे जस्तै मोबाइलको टकटाइम आउँदैन, तपाईँको मोबाइलमा आउने जवाफ यस्तो पो हुन्छ-  ल हेर्नुस् त, कतिसम्म हेप्या होलान् उपभोक्तालाई ? रिचार्ज गर्ने (टकटाइम दिने) भन्ने अनि जोन प्लेयर्सको सर्टमा १० % डिस्काउन्ट दिन्छु भन्ने ? त्यो हजार रुपैयाँ घटीमा नआउने सर्टमा यत्तिकै पनि १० % डिस्काउन्ट पसलेले दिन्छन् । रिचार्ज टकटाइम दिन्छु भनेर विज्ञापन गरेपछि सर्टमा डिस्काउन्ट लिन जा भन्नै पाइन्न । किनभने उसले विज्ञापनमा ‘रिचार्ज टकटाइमसहित अन्य उपहार’ भनेको छैन। भनेको कुरा नदिएपछि यो त सीधै ठगी भएन र ? उपभोक्तालाई एउटा दिन्छु भन्ने अनि त्यो नदिई अर्कै दिने गर्न पाइन्छ ?
के को दिनु ,उल्टै लिने !
पत्रिकाको विज्ञापन र टेलिभिजनको विज्ञापनमा स्पष्टसँग मोबाइलको टकटाइम दिने र रिचार्ज गर्ने भनिएको छ । त्यसैले पाँच पैसा नै सही, टकटाइम दिनु कम्पनीको दायित्व हो । तर पैसा पाउने त कुरै छाडौँ, एसएमएस गरेवापत् ५ रुपैया समेत झ्वाम हुन्छ । अझ हाँसउठ्दो कुरा, पछिल्लो विज्ञापनमा त १ लाख ग्राहकले रिचार्ज गरिसके, तपाईँ नि गर्नुस् भनिएको छ ।

भनेपछि एक लाख मुर्गा बनाइसकेछन् र फेरि पनि मुर्गा खोज्दै रैछन्। यदि विज्ञापनमा गरेको वाचा पूरा गरिँदैन भने त्यो उपभोक्तामाथिको ठगी हो । उपभोक्तालाई ठग्ने विज्ञापन गर्नु अपराध हो।
विज्ञापन जे मन लाग्यो त्यहि
के उपभोक्ता अधिकारवादी संस्थाहरुले यसमा ध्यान देलान् ? गलत सन्देश दिने  विज्ञापन बनेको भन्दै सञ्चार मन्त्रालयले यसअघि रियल डिजिटल केबलको विज्ञापन टेलिभिजनमा प्रतिबन्ध लगाएको थियो । उपभोक्तालाई ठग्ने नियतले बनाइएका यस्ता विज्ञापनबारे सञ्चार मन्त्रालयले केही सोच्छ कि सोच्दैन ?
यी र यस्ता विज्ञापनहरुले नेपालमा विज्ञापनको नियामक निकाय जरुरी भइसकेको पनि देखाएको छ ।  नत्र जसले जे मन लाग्यो त्यही विज्ञापन बनाउने क्रम बढ्छ । पक्कै पनि विज्ञापन आफ्नो उत्पादनको प्रचार, प्रवर्द्धन गर्न नै गरिन्छ । तर विज्ञापनमा पनि केही निश्चित आचारसंहिता हुन जरुरी हुन्छ । नेपालमा अहिलेसम्म यसबारे कुनै व्यवस्था नै छैन । यस्ता विज्ञापनले त्यसबारे सोच्न हतार भइसकेन होईन र ?
सभासद समेत रहेका राजेन्द्र खेतानको कोक बनाउने कम्पनी बोटलर्स नेपाललाई आफूले उपभोक्तालाई खुबै झुक्याएँ भन्ने ठानेको होला । विज्ञापन नदेला भन्ने डरले यसरी झुक्याएर ठगेको कुरा कुनै मिडियामा नि आउँदैन भन्ने लाग्या होला । तर हैन, आजका उपभोक्ता जागरुक छन् । उपभोक्तालाई झोँक चल्यो भने कोक किन्ने पैसा निकाल्न खल्तीभित्र पसेको हात र पसलतिर बढेको खुट्टालाई रोक लगाउन सक्छन् । अनि असर पर्ने अरुलाई क्या ठगेँ भन्दै दङ्ग परिरहेको कोकलाई नै हो ।

थप अरु....