प्रतिकृया

के माओवादी फुट्ला ?

२०६३ साल असार २ गते प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक हुँदा अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई एउटै खैरो पोसाकमा थिए । एक वर्षअघि चुनवाङ बैठकमा 'एकअर्कामा विलीन भएका' दुवैले सायद बलियो एकताको सन्देश दिन उस्तै पहिरनमा देखिएका थिए । अहिले दाहाल र भट्टराईको समान पहिरन त के, एकैसाथ निकै कम देखिन्छन् । बितेका चार वर्षमा यी दुई नेताका सम्बन्धमा आएको चिसोपन बढ्दै गएर अहिले सिंगो पार्टीलाई प्रभावित गर्न थालिसकेको छ ।
यो अवधिमा यस पार्टीमा दुईपटक नेतृत्व तहमा अन्तरसंघर्ष चर्किएको छ । २०६५ मा भक्तपुरको खरिपाटी भेला र गएको मंसिरमा गोरखाको पालुङटार प्लेनममा । खरिपार्टीको अन्तरसंघर्षको अस्थायी समाधान निस्केको थियो भने पालुङटारपछिको विवाद बढ्ने क्रममा छ । कतिसम्म बढिसकेको छ भने यी दुई नेता एकले अर्कालाई पार्टी विभाजन गर्न खोजेको आरोप लगाउन थालिसकेका छन् । अध्यक्ष दाहालले भट्टराईले पार्टी विभाजन गर्न खोजेको आशंका गरेका छन् भने भट्टराईले दाहालले 'कब्जा गर्न खोजेको' जबाफ फर्काएका छन् ।
आरोप-प्रत्यारोप
पालुङटार प्लेनममा दाहाल, भट्टराई र वैद्यबीच भएको 'वाकयुद्ध' कार्यनीति, नेतृत्व र कार्यशैलीका विषयमा केन्दि्रत थियो । तर अहिले दाहाल-भट्टराई जुहारी एक कदम अघि बढेर पार्टी विभाजनको आरोप-प्रत्यारोपमा पुगेको छ । दाहालले पार्टीभित्र चर्केको अन्तरसंघर्षलाई नायक र खलनायकको लडाइँ भनेका छन् । प्रस्ट बाबुरामको नाम नकिटे पनि तीर उतै सोझ्याउँदै खलनायकको दर्जा दिएका छन् र उनले कुनै पनि हालतमा पार्टी विभाजन नहुने दाबी गरेका छन् भने भट्टराईले आन्तरिक जनवादलाई कुण्ठित गर्न खोजे फुट्न सक्ने संकेत गरेका छन् । दोलखाको एउटा कार्यक्रममा उनले घुमाउरो किसिमले त्यस्तो संकेत गरेका छन् । 'प्रेसरकुकुरमा भात पकाउँदा हावा जान पायो भने भात पनि पाक्छ, हावा पनि जान्छ', उनले भने, 'तर हावा थुन्यो भने के हुन्छ ?'
अहिले माओवादीमा आन्तरिक जनवाद -प्रजातन्त्र) को माग भएको छ । दुई दशकदेखि पार्टीको नेतृत्व गरिरहेका दाहालको नेतृत्वप्रति प्रश्न उठाउँदै आन्तरिक जनवादको कुरा उठेको हो । आन्तरिक जनवादको अभ्यासलाई चर्को रूपले उठाउनुको अर्थ हुन सक्छ भट्टराईले पार्टीमा आफ्नो फरक अस्तित्व र पहिचान खोजेका छन् । महाधिवेशनको माग र त्यसको तयारीमा उनले गरेको देशदौडाहाका पछाडिको अर्थ यस्तै हुन सक्ने विश्लेषकहरूको राय छ । उनीनिकट एक नेता भन्छन्, 'पहिलो नम्बरको नेता बन्ने आकांक्षा यसअघि नदेखए पनि अब बाबुरामजीले जोखिम मोल्ने सोच्नुभएको देखिन्छ ।' 'बरु मर्न तयार छु, अन्याय र गलत कामविरुद्ध आत्मसमर्पण गर्दिनँ' भन्ने भनाइ आफ्नो वेबसाइटको पहिलो पृष्ठमै राखेर उनले जोखिम मोल्ने सांकेतिक अर्थ दिएका छन् । तर दाहालनिकट नेताहरू भने बाबुरामका पछिल्ला गतिविधिलाई बाह्य संघर्षको प्रभावका रूपमा बुझ्छन् । 'बाह्य संघर्ष बढ्दै जाँदा त्यसको छाया पार्टीमा पर्छ,' दाहालनिकट एक नेताले भने, 'बाबुरामजीमा 'नेभर सेकेन्डको धङधङी पार्टी राजनीतिमा देखिएको छ । राजनीति त्यस्तो हुँदैन ।'
विवादको जड
चुनवाङबाट नजिकिएका दाहाल-भट्टराई शान्ति प्रक्रियामा आउँदा एकअर्काका परिपूरकझैं देखिएका थिए तर खुला राजनीतिमा आएको एकाध महिनापछि नै यी दुईबीच चिसोपना बढेको माओवादीकै नेताहरू बताउँछन् । तर खुला रूपमा खटपटचाहिं २०६६ पुसमा आएर पर्न थालेको देखियो, जतिबेला पार्टीभित्र र बाहिर प्रधानमन्त्री को हुने भन्ने होडबाजी नै चल्यो । दाहालले बाबुरामलाई भारतपरस्त भन्दै भारतले प्रधानमन्त्री बनाउन चाहेको बताएपछि दुई नेताबीच औपचारिक 'लडाइँ' सुरु भएको थियो । यो पृष्ठभूमिमा आधारित भएर हेर्ने हो भने अहिले देखिएको आरोप-प्रत्यारोप दुई नेताबीचको व्यक्तित्व टकरावकै परिणाम हो तर पार्टीका नेताहरू पार्टीको कार्यदिशालाई लिएर नेतृत्वमा विवाद उब्जेको बताउँछन् ।
भट्टराईनिकट पोलिटब्युरो सदस्य राम कार्की मुलुक र कम्युनिस्ट आन्दोलनलाई कसरी अघि लैजाने भन्ने विवादको जड भएको
ठान्छन् । 'मुलुक र कम्युनिस्ट आन्दोनलाई कसरी अघि लैजाने विषयमा स्पष्ट विचार चाहिएको छ,' उनले भने, 'मुख्य विवादको विषय यही हो ।' दाहाल पक्षले भने भट्टराईले अवसरवादी कित्ताबाट बहस चलाउन खोजेको टिप्पणी गरेका छन् । जनविद्रोहको कार्यदिशा अवरुद्ध पार्न यस्तो बहस चलाइएको यो पक्षको निष्कर्ष छ । 'कम्युनिस्ट पार्टीमा बहसमाथि बहस शंृखला चलाउन सकिँदैन,' दाहाल पक्षधर पोलिटब्युरो सदस्य हरिबोल गजुरेल भन्छन्, 'पारित कार्यदिशा कार्यान्वयन हुन नदिने काम भएका छन् । अवसरवादी धारले सके पार्टी कब्जा जमाउँछ, सकेन भने पार्टी फुटाउँछ ।' उनले बहस माक्र्सवादी धारभन्दा बाहिर जान खोजेको आशंका गरेका छन् ।
असर अन्यत्रै
दाहाल-भट्टराई द्वन्द्वका असर पार्टीमा मात्रै सीमित रहेन । यसले पार्टीका वर्गीय संगठनहरूलाई पनि तानेको छ । विवादको प्रस्ट चित्र मजदुर संगठनमा देखियो । नयाँबजारमा दाहाल र वैद्य एउटै मेसमा खाना खाइरहँदा दुई पक्षका मजदुर कार्यकर्ता कुटाकुटमै ओर्लिए । दाहाल र वैद्य पक्षका मजदुर लडिरहेका बेला भट्टराई पक्षकाले पनि आफ्नो अस्तित्व देखाउन छुट्टै संगठनको गठन गर्‍यो । मजदुरमा यसरी विवाद बल्भिmएपछि
स्थायी समिति बैठकले तीनवटै विघटन गरेको छ तर विवादको समाधान निस्कने सम्भावना अत्यन्त क्षीण छ । कारण, दाहालले पूर्वअध्यक्ष शालिकराम जमरकट्टेलको नेतृत्वमा राष्ट्रिय सम्मेलन आयोजक समिति बनाउने पक्षमा छन् भने वैद्य र भट्टराई पक्षका मजदुरहरू जमरकट्टेललाई स्वीकार गर्ने पक्षमा देखिँदैनन् । दुवै पक्षले जमरकट्टेलको 'हैकमवादी' व्यवहारका कारण उनलाई स्वीकार गर्न नसकिने बताएका छन् ।
शीर्ष तहको द्वन्द्वको विवादले प्रकाशन विवादलाई पनि गाँजेको छ । पार्टीका मुखपत्र जनदिशा दैनिक र जनादेश साप्ताहिक संस्थापनभन्दा फरक धार लिएपछि यो विभाग विवादित भएको हो । जनदिशाले वैद्यको र जनादेशले भट्टराईको पक्ष लिएपछि विवाद सतहमा आएको थियो । विवादका कारण जनदिशा १२ दिन बन्द भयो भने जनादेश चार पेजको श्यामश्वेत प्रकाशन हुन थालेको छ । अध्यक्ष दाहालले 'आवश्यक रकम' दिएपछि जनदिशा प्रकाशन सुरु भए पनि कार्यरत पत्रकारहरू विभाजित छन् ।
पालुङटार बैठकपछि माओवादी लडाकुभित्र तीन धार देखा पर्‍यो । दाहाल, वैद्य र भट्टराईका पक्षमा लडाकुका कमान्डर खुलेर देखिए । भट्टराईले 'नोट अफ डिसेन्ट' मा लडाकु संगठनभित्र दुई लाइन संघर्ष हुन पाउनुपर्ने माग गरेका छन् । लडाकुमा 'चेन अफ कमान्ड' का नाममा पार्टीभित्र चल्ने दुई लाइन संघर्षलाई सहज र स्वाभाविक रूपमा सम्पे्रषण नगरी प्रत्यक्ष वा परोक्ष रूपमा निषेधात्मक एकत्ववादको अभ्यास गराइएको र दुई लाइन संघर्षमा सहभागी हुन पाउने अधिकारलाई कुण्ठित गरिएको गुनासो आउने गरेकाले त्यसलाई सच्याइनुपर्ने उनको अडान हो ।
कारबाहीको डण्डा
भट्टराई अडानमा रहिरहे र विवाद बढ्दै गएमा उनीमाथि कारबाही हुन सक्ने अनुमान गरिएको छ । त्यसका लागि अनुशासन विभागलाई सक्रिय बनाउने दाहाल रणनीति रहेको स्रोतको दाबी छ । दाहाल पक्षधर एक नेताका अनुसार सचिव पोष्टबहादुर बोगटीको संयोजकत्वमा गठित आयोगलाई सक्रिय बनाउने तयारी भइरहेको छ । 'पार्टी पद्धतिलाई अघि बढाउन अनुशासन विभागलाई सक्रिय बनाइनेछ' ती नेता भन्छन्, 'त्यो अनुशासनको डण्डा सम्भवतः भट्टराईका टाउकामा बज्रनेछ ।' भट्टराईमाथि कारबाही यो पहिलो होइन । २०६१ साल कात्तिकमा भट्टराईले अध्यक्ष दाहाललाई सम्बोधन गरी केन्द्रीय कार्यालयमा चारबुँदे फरक मत दर्ज र त्यसको एक महिनापछि मंसिरमा केन्द्रीय समितिमा असहमतिका १३ बुँदा राख्दा उनी कारबाहीमा परेका थिए । त्यसबेला उनले 'जनसेनाको घेराबन्दीमा बस्न पाउनु गौरवको विषय' भएको बताएका थिए । पार्टीमा गुटउपगुटले घर गरेको भन्दै 'स्वथ्य दुई लाइन संघर्ष' आवश्यकता औंल्याएपछि त्यसबेला उनी कारबाहीमा परेका थिए । उनलाई 'दुस्मनलाई मद्दत पुर्‍याएको' आरोपमा आफ्नै लडाकुको घेराबन्दीमा राखिएको थियो । त्यसबेला दाहालले २०६२ वैशाख १७ गते विज्ञप्ति जारी गरी भट्टराईले घातक दिशामा अघि बढेको आरोप लगाएका थिए । 'प्रत्याक्रमणको योजना कार्यान्वयनको महत्त्वपूर्ण क्षणमा गुट र फुटवादी क्रियाकलापलाई अगाडि बढाएर क लालध्वज -बाबुराम) साम्राज्यवाद, विस्तारवाद र शाही सैनिकलाई मद्दत पुर्‍याउने घातक दिशामा बढेको देखिएको छ' दाहालको भनाइ थियो ।
खबरदारी
फुट र कारबाहीका आन्तरिक अभ्यास चलिरहेका बेला माओवादी युवाहरूले भने नेतृत्वलाई विभाजनतिर नजान खबरदारी गरेका छन् । शुक्रबार स्थायी समिति बैठक चलिरहेका बेला उनीहरूले नेताहरू गुटका बैठकमा व्यस्त भएको भन्दै एकताका लागि खबरदारी गरेका हुन् ।
'पार्टी एकढिक्का गराएर जान खबरदारी गर्‍यौं,' विद्यार्थी पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले भने, 'हामी गुटका बैठकमा सहभागी नहुने पनि बतायौं ।' करिब सय जना युवा नेताले नेतृत्वलाई पालुङटारबाट पारित कार्यदिशालाई कार्यान्वयन गर्न समेत सुझाब दिए । 'सिद्धान्त र कार्यदिशा कार्यान्वयन गरे पार्टी एक हुन्छ' उनीहरूको भनाइ थियो, 'विचारको बहसलाई व्यवस्थित गरेर जानुपर्छ ।'
दाहाल र भट्टराईबीच वाकयुद्ध चलिरहेकाले अहिले वैद्य विवादबाट पर भएजस्तो देखिएको छ तथापि उनले अहिले दुईवटा रणनीति लिएको देखिन्छ । एक, भट्टराईलाई कमजोर बनाउने र दुई, दाहाल-भट्टराई द्वन्द्वबाट लाभ लिने । एक नेता भन्छन्, 'दाहाल र भट्टराई एक ठाउँमा हुँदा वैद्यलाई खरिपाटी भेलामा अप्ठ्यारो भएको थियो तर अहिले त्रिकोणात्मक संघर्षमा उनी बलिया देखिएका छन् ।' दाहाललाई पनि वैद्यको साथ पाएर हौसला मिलेको छ तर वैद्य बाहिर देखिएजस्तो दाहालसँग सम्पूर्ण रूपमा 'एकताबद्ध' छैनन् । वैद्यनिकट एक नेताका अनुसार दाहाल र वैद्यबीच बाहिर देखिएजस्तो एकता छैन । मजदुर संगठनको विवाद र दाहालको कार्यशैली वैद्यलाई चित्त बुझेको छैन । 'अहिले पनि त्रिपक्षीय अन्तरसंघर्ष छ,' उनले भने, 'बाबुरामसँग अलि बढी र प्रचण्डसँग अलि कम मात्रै हो ।'
विवाद चर्कंदै गए पनि आगामी जेठ १४ सम्म पार्टी विभाजनकै तहमा भने नपुग्ने नेताहरू बताउँछन् । खासमा दाहाल-भट्टराई जेठ १४ को पर्खाइमा छन् । 'जेठ १४ पछि कि महान् एकता हुनेछ, कि महान् फुट हुनेछ' एक वरिष्ठ नेताले भने, 'दाहाल र भट्टराई पक्ष जेठ १४ मा शान्ति र संविधान निष्कर्षमा पुग्छ कि पुग्दैन भनेर कुरिरहेका छन् र आफ्नो कार्यदिशालाई त्यससँग जोडेर हेरका छन् ।' त्यतिबेलासम्म उपाध्यक्ष मोहन वैद्य हावी भए भने पार्टी जनविद्रोहको बाटो अघि बढ्नेछ र त्यसमा भट्टराईको गम्भीर असहमति कायम रहनेछ । माओवादीमा त्यतिबेला दाहाल-वैद्यको कार्यदिशामा कि भट्टराई तानिनुपर्नेछ कि पार्टीमा 'विद्रोह' गर्नुपर्नेछ । ती नेताको अनुमान यस्तो छ, 'दाहाल-वैद्यको कार्यदिशामा भट्टराई विश्वस्त भए त्यो 'महान् एकता' भनिनेछ भने भट्टराईले 'विद्रोह' गरेमा त्यो 'महान् फुट' हुनेछ ।'

थप अरु....